राजधानीमा सभ्य बन्दै फागु पूर्णिमा पर्व, कुन देशमा कसरी मनाइन्छ फागु ?
काठमाडौँ, ३ चैत (रासस) : वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ ।केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै युवती प्रायः सडकमा निस्कदैनथे ।
फागु पर्व सभ्य हुन थालेपछि भने बुधबार पनि राजधानीमा युवतीको चहलपहल पूर्ववत् रह्यो । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । विसं २०७६ देखि भने कोरोना महामारीका कारण पनि फागु पूर्णिमा पर्व थप सजगताका साथ मनाउन थालिएको छ ।सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन ।
विगत वर्षजस्तै यस वर्ष पनि कोरोनाको प्रभाव कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।
विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहजरुपमा हिँडडुल गर्न सकेको कीर्तिपुरबाट नयाँबानेश्वरको कार्यालयमा आउनुभएकी रमिला महर्जनले सुनाउनुभयो ।
यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन् ।उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
फागु पर्वमा चीरोत्थानको परम्परा
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु पर्व शुरु हुन्छ ।
आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।